अहिले सम्मको भागहरुमा टिप्पणी गर्नु हुने र मन पराइ दिनु हुने सबैमा नमन गर्दै जेल यात्राको यो अन्तिम भाग प्रस्तुत गर्दै छु |
जेल यात्रा
अन्तिम भाग
चुरोस सल्काएं | एउटा सकियो अर्को पनि सल्काएं | चुरोट तानेर धुँवा फाल्दा उडेका धुँवाको आकृतिहरु हेर्दै मनमा अनेक कल्पना आए | साँच्चै हरिदाई निर्दोष पो हुन् कि ? निर्दोष मान्छे यसरी काल कोठरीमा बन्द हुँदा उनको मनमा के कति आंधी चल्दो हो, परिवार नाता कुटुम्ब कति भात्किँदो हो | मेरो लागि अकल्पनीय बिषय हो |
दोस्रो खिल्ली पनि सके पछि जेल भित्र फेरी प्रवेश गरें | अर्को एक राउण्ड चिया आइसकेको रहेछ |
"मार्साब को चुरोस ब्रेक त लामै रहेछ , लौ एक राउण्ड चिया फेरी खाम | " जेलर साहेबले आफ्नो वृतान्त सुनाउन भूमिका बाध्नु भयो |
------------------------------------------------------------------------------------------------------------
आज भन्दा झन्डा १० महिना अघि सम्म म यही जेलको जेलर थिएँ | उप सचिबमा प्रमोशन भए पछि सोर्स फोर्स लाउन सकिन, सिडियो हुने इच्छा थियो जेलर बनाएर खटाइ दियो | ठिकै छ त काठमाडौ जानु पर्ने हैन भनेर जेलर भएर आइयो | जेल प्रशासन बारे बुझ्न खोज्दा खोज्दै एउटा नराम्रो घटना घट्यो | जेलको हाकिमको हैसियतले दोषी मै भएँ |
"घटना चाहिं के नि सर ??" मैले जिज्ञासा राखें|
लागु औषधि कारोबारमा २ बर्ष जेल सजायंमा परेका दुइ जना नाइजेरियन नागरिक यहि जेलमा थियो | बेला बखतमा झाडा पखाला लगायत पेट दुख्ने रोग लाग्ने र अस्पताल जाने गर्थे | हत्कडी लगाई हतियार धारी प्रहरीको साथमा बीर अस्पताल लान्थे र समयमै फर्किन्थे |
एक दिन ती दुवै जनाले एकै दिन पेट दुख्यो र छाती दुख्यो , अस्पताल जान पाउँ भन्ने निबेदन दिए | आफु नयाँ परेकोले वा पहिलेको बिश्वासले स्वीकृत गरि दिएँ | चार चार जना प्रहरीको जिम्मा लगाई दिएँ |
जेलबाट अस्पताल जाँदा वा पहिलेइ नै सेटिंग भएको रहेछ |
"अस्पताल हैन कोपुण्डोल स्थित होटल हिमालयमा पुर्र्याई देउ , उताबाट हामीलाई छुताउन वाकिन आएको छ | एक घण्टा जति वकिल संग कुरा गर्न देउ , एक एक जना लाई १०, १० हजार रुपैया दिन्छु " भनेर लोभ देखाएछन |
दंठे पुलिस न परे | लोभमा फसिहाले | (हुन पनि हो त्यति बेला हामी इन्जिनियरको तलब २९ सय थियो प्राबिधिक भत्ता समेत जोडेर | यो हिसाबले सिपाहीको तलब मुश्किलले १४-१५ सय हुन्थ्यो होला | )
१० हजार भनेको धेरै ठुलो रकम | फसिहाले दंठेहरु |
हिमालय होटलकै रिसेप्सनमा अर्को एक जना नाइजेरियन काले कुरी राख्या रैछ रे | त्यो काले र कैदी काले बीच एकै छिन कानेखुसी के भाथ्यो, प्रहरीहरुलाई १ -१ हजार को दिए रे | कैदी काले मध्ये एक जनाले काम चलाउ नेपाली जान्थे | त्यसले प्रहरीहरुलाई भने छ - यो एक हजार एडभान्स भयो, हाम्रो हत्कडी खोलि देउ वकिल संग को पेपरमा साइन गर्नु छ, माथी कोठा न. ... मा बसेको छ | बाकि पैसा हामी माथि बोलाएरै दिन्छु | यही रिसेप्सनमा बसी राख एक एक जना गरी बोलाउछि फोन बाट अनि आउनु र पैसा लिनु |
प्रहरी त मख्ख, १० हजार पाइने , झन्डै ६ महिनाको तलब एकमुष्ठ | मुर्खहरुले नेल खोलिदिए र कैदीहरु माथि गए | माथि गएको एकै छिनमा रिसेप्सनमा घन्टी बज्यो र एक जना प्रहरीको नामै लिएर माथि आउनु भन्ने आदेश आयो | दङ्ग पर्दै माथि गए छ त्यो | फेरी ५ मिनेट पछि अर्को लाई बोलायो | दङ्ग पर्दै गए | एवं रितले सबैलाई माथि बोलाए गए |
त्यस पछि कोइ पनि फर्केंन जेलमा | ५ बजे सम्ममा कुनै हालतमा फर्की सक्नु पर्ने नियम थियो | न कैदी फर्के न प्रहरी | अफिसबाट फिर्ने लाग्दा इन्स्पेक्टर साहेब हस्याङ्ग फस्यांग गर्दै आए |
"सर सर ती नाजेरियन र प्रहरीहरु कोइ पनि फरेको छैन . केहि गडबड भयो जस्तो छ | के गरूँ सर , टेन्सन भयो | "
"लौ बर्बाद भयो | अघि नै केही शंका लागेको थियो मन मा एकै दिन दुइबै जनालाइ अस्पताल जानु पर्ने किन होला भनेर | "
"लौ तुरन्तै प्रहरी हेद क्वार्टरमा फोन गर्नु , सबै कुरा खुलस्त गर्नु , भाग्न नपाओस | म पनि बिभागमा खबर गर्छु | "
प्रहरी पर्शासन दुबैमा घटनाको जानकारी गराइयो | इअरपोर्ट देखी काठमाडौको सबै नाकामा चेकिङ्ग सुरु भयो | एक टोलि प्रहरी हिमालय होटल गए |
हिमालय होटलमा बुझ्दा प्रहरी आएका र नाइजेरन बसेको कुरा पुष्टि भयो तर तिनीहरुको बसेको कोठा खाली थियो | चेक आउट नगरी भागि सकेका रहेछन | प्रहरी .. कता गए नि | हिमालय होटलका सुरक्षा कर्मी देखि लिएर अन्य कर्मचारीहरु संग जानकारी लिंदा कोइ प्रहरी र नाइजेरन कोइ पनि होटल बाहिर गएको देखिएन | रुम पुरै खालि थियो , सरसामान केही पनि थिएन | तर बाथरूम लक थियो | बाहिरबाट लक् गरेको रहेछ | बाथरुम भित्र चार जना प्रहरी इन्तु न चिन्तु अवस्थामा |
प्रहरीहरुलाई तुरन्तै अस्पताल लगियो | ज्यान जोगियो तर जोगिएन | ती प्रहरीहरु बयान अनुसार, काले ले एक एक जना गरी बोलाइ भक्कुमार पिट्ने र हात खुटा बाँधी , मुखमा पट्टि बाँधी ट्वाइलेटमा कोचेका रहेछन |
नाजेरियनहरु भागेको भागेइ भयो , समात्न सकिएन | कुटाइ खाने पुलिस , पुलिसको हाकिम लगायत मलाइ समेत निलम्बन गरी मुद्दा चलाए , सरकारी वकिलको कार्यालयले | मिलेमतोमा कैदी भगाए भन्ने संगिन आरोपमा |
अस्पताल जान पाउँ भन्ने निबेदन स्वीकृत मैले गरेको हुँ, मिलेमतोमा हैन | प्रहरीसंग के कस्तो मिलोमतो भयो मलाई थाहा छैन भनें | मेरा वकिलले पनि सक्दो प्रतिरक्षा गरे | न्यायाधिशले के मान्थ्यो ?
"मिलोमतो न भएको भए दुवै जना एकै दिन कसरी बिमारी हुन्थ्यो" भन्ने प्रश्न गरे | म संग त्यसको उत्तर थिएन | यदि मैले अस्पताल जान न दिएको भए अनि उनीहरू साँच्चै नै बिरामी भएर तल माथि केही भएको ... बिदेशी नागरिकको सवाल छ , यो भन्दा गम्भीरर घटना हुन्थ्यो | दोष जम्मै मेरै मा आउथ्यो |
आखिर जेल प्रशासनको मिलेमतोमा कैदी भगाएको ठहर गर्दै मेरो सरकारी जागिर खोसियो त १८ महिनाको लागि यही थोसियो | चारै जना बदमास प्रहरीहरुको नि जागिर गयो २-२ बर्ष जेल गयो | हाल तिनीहरु नख्खु जेलमा छन् | इन्स्पेक्टर साहेब मात्र बच्नु भयो , नसिहत सहित सरुवा हुनु भयो |
यसरी सर , नखाएको बिष पनि लाग्दो रहेछ | धन्न मैले यहाँका कैदी दाजु भाईहरुलाई अन्याय गरेको रहेन छु र आज मलाई उहाँहरुले अभिबावक सरह मानेर एउतै परिवार जस्तै भएर रहेकाछौं | परिवार संग अलग्गिएर , एउटा कलंक बोकेर जिउनु पनि के जिउनु जस्तै लागेको थियो | तर यहाँ भित्र म जस्तै धेरै निर्दोषहरु थुनिएका रहेछन | सबैको कथा ब्यथा उस्तै छन् | त्यहि भएर मन बहलिएको छ | अब धेरै दिन बाँकी छैन मेरो कैद भुक्तान हुन | अब उनीहरु संग छुट्टिएर पो कसरी जाने जस्तो भैसक्यो | एउटा अचम्मको डोरीले बाँधिने रहेछ जेल भित्र पनि | शायद पीडाहरु एउतै भएर होला |
--------------------------------------------------------------------------------------------------------------
जेलर साहेबको कथा पुरा हुँदा न हुँदै समयले पांच हान्ने लागिसकेको थियो | रिपोर्ट लेख्नु छ फेरी , भोलि बिहानै मेयर साहेबले खोज्ने छन् |
"लौ त यहाँको अवस्था बारे र नाप जांच गरेको आधारमा प्रोपोजल समेत आजै बनाउनु छ | काम सुरु हुने बेला फेरी आउने नै छु | तपाइहरुको आतिथ्य र मायाको लागि धन्यबाद | तपाइँहरु संगको एक दिन अबिस्मरनिय रहने नै छ | अब हिड्छु |"
हिड्छु भन्दा भन्दै पनि अर्को १५ मिनेट खायो | सबै संग बिदावारि र अघि न भेटेका संग परिचय साटासाट गर्ने पर्यो |
यही रह्यो मेरो एक दिनको जेल बसाई | मन भरि अनेक तर्कना गर्दै भारि मनले जेलबाट बिदा भएँ | तीता मिठा कहानी सुनें , देखें र तपाईहरुलाइ सुनाएँ | मन पर्यो होला नै |
अस्तु !!
(हरि दाइको सन्दर्भमा - जिल्ला अदालतले हत्याको मुख्य अभियुक्त करार गर्दै जन्म कैदको फैसला दिए . पुनराबेदन अदालतले जिल्ला अदालतको फैसला सदर गर्यो | सर्बोच्च अदालतले दुवै अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै निर्दोष भएको फैसला सुनायो र करीब पांच बर्ष पछि छुट्नु भयो हरिदाई | जागिरमा पुनर्बहाली हुनु भयो र तत्काल राजिनामा गर्नु भयो | त्यतिन्जेल मैले पनि लोक सेवा पास गरेर सरकारी सेवामा गैसकेको थिएँ | अझै पनि टोलमा हरिदाई भेट हुन्छ . नमस्कार सर भन्दै हात मिलाउनु हुन्छ | पांच बर्ष निर्दोष भैकन पनि जेलमा बिताउनु भएको कथा ब्यथा बिस्तारमा बुझ्ने सुन्ने मौका पाएको छैन , नत्र एउटा गतिलो उपन्यास बन्ने थियो | मौका मिले हरिदाईको कहानी कुनै दिन लेख्ने नै छु | )
Last edited: 04-Aug-14 08:15 AM
Last edited: 04-Aug-14 01:17 PM