गुण्डा छुटाउन कांग्रेसको बन्द
किरण भण्डारी print
१. तस्कर समातेपछि अरनिको राजमार्ग बन्द ।
२. माथिल्लो मस्र्याङ्दी असुरक्षाका कारण बन्द ।
३. नुवाकोट पहिरो प्रभावितले बन्द ।
साउन १२ गते पत्रकार कुन्द दीक्षितले लेखेको उक्त ट्विटर स्टाटसमा जवाफ दिँदै रामशरण महतले लेखे, ‘सबै प्रकारका बन्द र चक्काजामलाई कम्तीमा पाँच वर्षसम्म प्रतिबन्ध लगाउनु जरुरी छ ।’
प्रमुख दल र भातृ संगठनहरूको २०४६ यताका गतिविधि सम्झना ग¥यो भने कांग्रेस पार्टी कम्युनिस्टहरूजस्तो बन्द, हड्ताल र चक्काजाम आयोजना गर्न हौसिएको देखिदैन ।
सरकारमा नरहँदा पनि आन्दोलनको बहानामा ऊ बन्द वा चक्काजामको माध्यमबाट शक्ति प्रदर्शन गरेर सर्वसाधारणलाई आतंकित तुल्याउने सजिलो विधितिर लहसिएको देखिँदैनथ्यो ।
वाइसिएल र युथफोर्स बाहुबलको ऊर्जामा संगठन विस्तार गर्न कस्सिएको देखेर पनि महतले सामाजिक सञ्जालमा त्यस्तो धारणा व्यक्त गरेको हुनसक्छ । उनले ट्विटरमै कांग्रेसले पछिल्लो पाँच वर्षमा एकपटकमात्र बन्द गरेको दाबी गरेका छन् ।
महतमात्र हैन, जुनसुकै दलबाट अर्थमन्त्री हुनेहरूले बन्दहड्तालप्रति उस्तै कडा धारणा व्यक्त गर्ने गरेका छन् । हड्ताल, चक्काजामले आर्थिक विकासमा अबरोध पुर्याउँछ ।
एमालेका सुरेन्द्र पाण्डे वा भरतमोहन अधिकारी, माओवादीका बाबुराम भट्टराई वा वर्षमान पुन, राप्रपाका प्रकाशचन्द्र लोहनीबाट ऐन मौकामा उस्तै धारणा व्यक्त हुने गरेको छ, ‘बन्द गरौं बन्दहरू ।’
यी र यिनका पार्टीहरूले बन्दबिरुद्ध सार्वजनिक प्रतिवद्धता पनि व्यक्त गर्ने गरेका छन् । बन्दविरुद्ध एकताबद्ध भई हातेमालो गरेका तस्बिरहरू यदाकदा छापिने पनि गरेका छन् ।
भ्रष्टाचारविरुद्ध, सुशासन, विधिको शासन वा अरु वाचाजस्तै ‘बन्दविरुद्धको प्रतिवद्वता’ पनि दलहरूबाट पालना हुने गरेको छैन ।
महतले दीक्षितलाई जवाफी ट्विट लेखेकै भोलिपल्ट ‘गुण्डानाइके’ चरी (दिनेश अधिकारी) पक्राउविरुद्व धादिङ बन्द भयो । युवासंघले आयोजना गरेको भने पनि एमाले कार्यकर्ताहरू चक्काजाम गराउन पृथ्वी राजमार्गमा उत्रिए ।
प्रहरीले चरीलाई पक्राउ गर्यो । विधिको शासन हुँदो हो त उनी दोषी वा निर्दोष रहेको फैसला सिडिओ वा न्यायाधीशले गर्नुपथ्र्यो । विभिन्न जिल्लाबाट काठमाडौं वा राजधानीबाट मेचीदेखि महाकालीसम्म हिँडेका बुढाबुढी, महिला, केटाकेटीले दुख सहनुपर्यो । त्रिशुली किनारको घाममा टट्टिनुपर्यो ।
सडकमा उत्रिएर थर्काएपछि माग पूरा भएको देखेरै चरी समर्थकहरूले त्यो उपाय अपनाएका होलान् । यस्तो हर्कत गर्ने उनीहरू पहिलो समूह पनि हैनन् ।
संयोगले बन्दको बिरोधमा पटकपटक अभिव्यक्ति दिने अर्थमन्त्री पाण्डे धादिङकै हुन् । उनले चरीको नाममा एमालेले गरेको कर्तुतको सार्वजनिक विरोध गरेनन् ।
साउन १६ गते चितवनमा वाइसिएलले जबर्जस्ती चन्दा असुली गरिरहेको फेला प¥यो । प्रहरीले पक्राउ ग¥यो । एसपी प्रद्युम्न कार्कीलाई सिंहदरबारदेखि दलका नेताहरूको दबाब आयो ।
उनले पाँचजना वाइसिएल नेताहरूलाई छाड्न मानेनन् । काठमाडौंबाट सरुवा भएर चितवन पुगेको भोलिपल्टै फितलो देखिन कार्कीले चाहेनन् ।
रिहाइको माग गर्दै वाइसिएलले साउन १७ गते चितवन बन्द गरे । एम्बुलेन्ससमेत तोडफोड भयो । छाडा भएका कार्यकर्तालाई माओवादीका कुनै नेताले अंकुश लगाएनन् । धादिङजस्तै चितवन बन्द हँुदा हज्जारौं बटुवाले सास्ती झेल्नुपर्यो । नारायणी किनारको गर्मी सहनुपर्यो ।
यी दुई जिल्ला बन्द हुनु र आधा नेपाल बन्द भएझैं हो । त्यसैले पनि यहाँका कार्यकर्ता बन्द, चक्काजाम र हड्तालका लागि थप प्रशिक्षित भएजस्तो देखिन्छन् । सानोभन्दा सानो निहँुमा सडकमा ओर्लियो, बटुवालाई सतायो ।
सरकार कारबाही गर्दैन । वार्ता गर्छ । उनीहरूको नाजायज माग पूरा गरिदिन्छ । बाहुबली बन्न अझ प्रोत्साहित गरिरहेको हुन्छ ।
महतले ट्विट गरेको दश दिनमात्र भएको थियो । भरतपुरको सेञ्चुरी होटलनजिकै भारतीय पर्यटकलाई ‘गुण्डा’हरूको समूहले कुटपिट गर्यो । संयोगले प्रहरीले उनीहरूलाई भेट्टायो । कमिले ग्याङका प्रमेश राई र यमबहादुर कार्की पक्राउ परे । राई तरुण दलका उपाध्यक्ष र कार्की नेविसंघका जिल्ला सदस्य ।
जुन दल भए पनि रित उही ! एसपी कार्कीलाई लोकल कांग्रेसहरूले सोर्स लगाए । उनले टेरेनन् । केन्द्रीय नेताहरूले पनि दबाब दिए ।
‘हामीले कुनै दलको मानिस पक्रेको होइन, गुण्डाहरूलाई समातेको हो,’ कार्कीले ठूलाबडालाई मुखभरिको जवाफ दिए, ‘कानुनअनुसार कारबाही हुन्छ, बस् ।’
सोर्सले काम नगरेपछि तरुण दलवालाले पनि अचूक उपाय निकाले– चितवन बन्द । प्रहरीको तथ्यांकअनुसार चितवन भएर दिनको सात हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सास्ती फेरि सर्वसाधारणकै थाप्लामा ।
महतहरूले आफ्ना कार्यकर्तालाई बन्द नगर भनेर हकारेन् । बन्द, हड्ताल ग¥यौ भने पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने चेतावनी दिन सकेनन् । बुद्धिविलासका काममा साँचिलो भए पनि एमाले वा माओवादी जस्तै देखियो कांग्रेस पनि ।
तरुण दल, नेविसंघ, कांग्रेसले राई र कार्कीको निसर्त रिहाइको माग यथावत राखिरहेको छ । कार्कीले उनीहरूलाई दिइरहेको जवाफ उद्धृत गर्दै सेतोपाटीलाई भनेका छन्, ‘हामी बन्दको धम्कीबाट हच्किएर गुन्डाहरूलाई छाड्दैनौं, कानुनी कारबाही गर्छौं ।’
प्रहरी नगल्ने देखेपछि चितवन कांग्रेसले ३ बजे बन्द खुलाउन केही सकारात्मक भूमिका खेलेपनि उसको नियत भने उत्तिकै खोटो देखिएको छ । उसले भनेको छ, ‘बिहीबार रातिसम्म निसर्त रिहा नभए शुक्रबारदेखि फेरि अनिश्चितकालीन हड्ताल ।’
बन्द फिर्ता हैन, स्थगन भएको छ, कांग्रेसको आधिकारिक धारणा यही हो । निहत्था पर्यटकलाई कुटपिट गर्नेहरूलाई माफी दिलाउन कांग्रेस कस्सिएको छ । केन्द्रमा कम अग्रगामी र कम पाखण्डी देखिने नेताहरूले पनि चितवन कांग्रेसलाई हप्काएका छैनन् ।
कांग्रेसीहरूले प्रहरी हिरासतमै राई र कार्कीलाई यातना दिएको आरोप लगाइरहेका छन् । ‘बन्द गरेर जनतालाई असुविधा दिने उद्देश्य नहुँदानहुँदै हिरासतमा भएको कुटपिटविरुद्ध बन्द गर्न बाध्य भएका छौं,’ तरुण दल अध्यक्ष श्रेष्ठले टेलिफोनमा भने ।
चितवनस्थित सञ्चारकर्मीहरूका अनुसार राई र कार्कीलाई त्यस्तो कुनै पनि यातना दिइएको छैन । पक्राउको बचाउ गर्न सक्ने कारण छैन ।
किन बन्द ग¥यौ भन्ने प्रश्नको लोकलाज जोगाएर जवाफ दिन यातनाको उपाय निकालिएको आशंका उनीहरूको छ ।
तरुण दलजस्तै बन्दको पक्षमा उत्रिनुपर्ने ‘बाध्यता’ जिल्ला कांग्रेसलाई पनि परेको छ । ‘प्रशासनले कांग्रेसलाई नै लक्षित गरेर अन्याय गरेपछि बाध्य भएर भोलि (शुक्रबार) बन्द आह्वान गर्नुपरेको हो,’ सभापति टेकबहादुर गुरुङले टेलिफोन कुराकानी गर्दै भने । जिल्ला प्रशासनले छानीछानी कांग्रेस कुट्ने, पिट्ने गरेकाले बन्दको सहारा लिनुपरेको उनको कथन छ ।
तर यो तर्कमा दम देखिदैन । चितवनका सिडिओ नरेन्द्रराज शर्मा गृहका अनुभवी हुन् । उनी निकट मात्र हैन, खाँटी कांग्रेसी मानिन्छन् । केन्द्रीय सदस्य पूर्णबहादुर खड्का, सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवाका सिफारिसमा शर्मा विभिन्न जिल्लामा सिडिओ भएका व्यक्ति हुन् ।
कोइरालाकै जोडबलमा उपसचिव रहँदै शर्मालाई २०६३÷६४ सालमा बाँकेको सिडिओ बनाइएको थियो । सहसचिवको दरबन्दीमा उनी कायममुकायम बनेका थिए ।
यी सबै तथ्यहरूसँग जानकार कांग्रेस नेताहरू, अझ बेला मौकामा विधि, पद्धति र थितीको कुरा गर्ने महतहरू पनि बन्दको मौन समर्थन गरिरहेका छन् । ‘अरु सबै आदर्श भइदिउन्, आफूले मनखुशी गर्न पाइयोस्’ भन्ने प्रवृत्ति कांग्रेसमा पनि उत्तिकै बलियोसंग गडेको दृष्टान्त मात्र हो चितवन बन्द ।
बाहुवलका अगाडि सबै बाध्य भएर झुक्ने दिनबाट सर्वसाधारणले कहिले मुक्ति पाउलान् ? बन्दको नाममा बुढाबुढी, केटाकेटी र महिलाले अझै कति रातहरू बाटामा÷बसमा काट्नुपर्ला ? अस्पताल पुग्न नभ्याएर कतिको बाटामै प्राण जाला ?
माओवादी, कांग्रेस, एमालेका कथित जिम्मेवार नेताहरूमध्ये कसैसँग यसको जवाफ होला ?
- See more at: http://setopati.com/blog/3014/#sthash.DQa4JRgy.dpuf